राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुँदैन : मन्त्री श्रेष्ठ

166

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उद्देश्य, मर्म र भावनाअनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा मल्टी च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास गर्नेगरी बजेटमार्फत् विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले जग्गाको चक्लावन्दी गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउँदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डिकरण रोक्न मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।

संविधान, ऐन नियम र नियमावलीहरु बने पनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमिसम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रुपमा गर्न खोजीरहेको पनि बताइन् ।

उनले भनिन्, “संविधान, ऐन नियम बनाएर र ठुलाठुला भाषण गरेर मात्रै विकास काम नहुने रैछ त्यो हामीले देखिसकेका छौँ, त्यसका लागि अहिले नागरिकले अनुभूति गर्ने गरी काम गर्न सुरु भइसकेको छ, संविधान कार्यान्वयन र भूमिसम्बन्धी समस्या समाधानको काम पहिलो प्राथमिकतामा राखिएको छ, २०२१ सालयता नापी भएर पनि लालपुर्जा पाउन नसकिरहेका गाउँब्लकका नागरिक र भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने अभियान नै सुरु गरिसकेका छौँ, भूमिहीन दलितलाई ललापुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट सुरु गर्‍यौँ, अब फेरि पनि भूमिसम्बन्धी समस्या समाधानका लागि भन्दै आयोग र समिति गठन गरिरहन नपर्ने गरी योजनाबद्ध रुपमा नै काम सुरु गरिसकेका छौँ, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”

मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले सुरु गरेको कामको पक्ष र विपक्षमा तर्क वितर्क सुरु भइसको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोही पनि विभाजित हुन नहुने पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...