सिन्धुली मुसहर बस्तीका १०६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

242

सिन्धुली । संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गाको लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत् सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ को मुसहर बस्तीका १०६ भूमिहीन घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण कार्यक्रमको आज सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले सुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुने बताइन् ।

भूमिहीनलाई भूमि उपलब्ध गारउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफूहरु लागिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँब्लकको जग्गाको नापी गर्ने र लालपुर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताइन् ।

उनले भनिन्, “सरकार संविधानको कार्यन्वयन र भूमिहीनलाई भूमि उपलब्ध गराउने काममा जुटिरहेको छ । भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई ललापुर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोगमार्फत् सुरु भइसकेको छ, निर्वाचन आचारसंहितका कारण केही समय लालपूर्जा वितरणको काम रोकिने भएपनि निर्वाचनलगत्तै पुनः कामले तीव्रता पाउने छ भने देशभर रहेका गाउँब्लकको जग्गा नापी र लालपुर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम सुरु गरिसकिएको छ ।”

मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उद्देश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनु पर्ने तथा भूमिसम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागिपरेको पनि बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...