संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ : मन्त्री झाँक्री

124

विराटनगर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छन् । उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताएकी हुन् ।

सहरी विकास मन्त्रालयद्वारा प्रदेश नम्बर १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय सहरी निति तथा सहरी विकास ऐन तर्जुमासम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘अब हामीले तीनै तहका सरकारका कार्य क्षेत्रबारे विवाद गरेर बस्नु हुँदैन । सँगै मिलेर अघि बढ्नुपर्छ ।’ मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने बताउँदै अब योजना छनोट वडा तहबाट हुनुपर्ने बताइन् । मन्त्रालयले संघीयता अनुसारको सहरी नीति परिमार्जन र सहरी विकास ऐन बनाउने बताउँदै यसमा सबैको अपनत्व हुने बताइन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रित हुनुपर्ने बताए । ठुला सहरमा मात्र विकास र लगानी केन्द्रित हुँदा बसाइँ सराइको क्रम बढेको बताउँदै उनले सबै क्षेत्रमा विकास पुग्ने गरी नीति परिमार्जन गर्नुपर्ने बताए ।

उनले भने, ‘विकास निर्माणका काम ठुला सहरमा मात्र केन्द्रित हुँदा बसाइँ सराइ बढेको छ । अब विकास र बजेट अविकसित ठाउँमा पुर्याउनुपर्छ । यी विषयहरु सहरी नीति परिमार्जन र सहरी विकास ऐन बन्नुपर्छ ।’

सहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले संघीयतापछि सहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएकाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...