बाँकेमा स्थानीय तहको निर्वाचन आचार संहिताबारे छलफल

217

नेपालगञ्ज । स्थानीय तहको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्नका लागि बाँकेका नागरिक समाजको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले आज बिहीबार गरेको निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक छलफलका सहभागीहरुले स्थानीय तहको निर्वाचनमा आचार संहिताको पूर्ण पालनाका लागि नागरिक दबाब तथा वाचडगको आवश्यकता रहेको औँल्याएका थिए ।

कार्यक्रमका सहभागीहरुले कार्यक्षेत्रमा आचार संहिता उल्लङ्घनका घटना बढी हुने भएकाले स्थानीय स्तरबाट त्यसको कार्यन्वयनका लागि पहल थाल्नुपर्ने बताएका थिए । कार्यक्रममा राजनीतिक दलका उम्मेदवारहरुले चुनावमा गर्ने अत्याधिक खर्च, सम्पत्ति विवरण नबुझाउने, बालबालिकाको प्रयोग बढी गर्ने, उम्मेदवारद्वारा विभिन्न प्रलोभन देखाउने, अनुमतिबिना पर्चा पम्पलेट तथा ब्यानर टाँस्ने, स्थानजस्ता कार्यका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख झंकर रावल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, अधिवक्ता दिपकबहादुर सिंह, बालबहादुर चन्द, अधिकारकर्मी प्रकाश उपाध्याय, कृष्णमुरारी प्रसाद भट्ट, बालकुमारी पन्त, शैलेन्द्र वैश्य, इन्सेकका सरस्वती मल्ल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार राकेश मिश्र लगायतले निर्वाचन आचार संहिताका बारेमा आ–आफ्नो विचार राखेका थिए ।

संस्थाका कार्यक्रम व्यवस्थापक रविन्द्र ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा अधिकारकर्मी रविन्द्र कर्णले सहजीकरण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...