त्रिकोणात्मक टी–२० सिरिज : पिएनजीलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ । नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ३७ रनले हराउँदै नेपाल फाइनल पुगेको हो । यससँगै नेपालले आफ्नो ५०औँ टी–२० अन्तर्राष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ ।
नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १६६ रन मात्र बनाउन सक्यो । नेपालको जितमा नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए । केसी अन्तर्राष्ट्रिय टी–२० मा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडीसमेत बने ।
यसैगरी, सोमपाल कामी र अभिनाश बोहराले समान २–२ तथा सन्दीप लामिछानेले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । दिपेन्द्रसिंह ऐरी र डेब्यु खेलाडी आदिल अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो । नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।
पिएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १-१ विकेट लिए ।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले हराएको थियो । यस्तै, नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
पिएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पिएनजी पुछारमा रहेको छ । मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।