१५–१६ घन्टाको लोडसेडिङ हटाएर अहिले बिजुली निर्यात गर्ने अवस्थामा पुग्यौँ : प्रचण्ड

409

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर देशबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले बिजुली निर्यात गर्ने अवस्थामा पुगिएको बताएका छन् ।

चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएको १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

“विगतमा दैनिक १५-१६ घन्टाको लोडसेडिङको जटिल र चुनौतपूर्ण अवस्थामा रहेर प्रताडीत थियौं । तर, हामीले लोडसेडिङ आश्चर्यजनक रुपमा हटाएर त्यसलाई इतिहास बनाएका छौँ । अहिले मुलुक लोडसेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौँ ,” उनले भने,“इच्छाशक्तिसहित इमान्दारिताका साथ काम गरिएमा असम्भव भनिएको काम गर्न सकिदो रहेछ भन्ने पुष्टि भएको छ, लोडसेडिङ अन्त्यसँगै चुलोचौका, उद्योग, यातायातलगायतका हरेक क्षेत्रमा विद्युत प्रयोग गर्ने अवस्था सिर्जना भएको छ, यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा ठुलो सकारात्मक प्रभाव पारेको छ ।”

उनले मलुकका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरुमा ५० वर्षसम्मको विद्युत मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गरे ।

चितवनबाट संघीय सांसद्समेत रहेका प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताइन् । उनले भनिन्, “पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०/५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौँ ।”

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए ।

यो सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमतार ३३/११ केभी, १६.६ एमभिए क्षमताका एक-एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् ।

सबस्टेसनबाट ११ केभी फिडरमार्फत् राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन् ।

यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ ।

सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नु पर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको प्राधिकरण,प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताए ।

उहाँले स्थानीय, जनप्रतिनिधि, प्रशासन लगायतबीच पटक–पटक छलफल गरिएको भएता पनि समस्या समाधान हुन नसकेको उल्लेख गरे ।

पूर्वी चितवन सबस्टेसन निर्माण २०७५को जेठदेखि सुरु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...