अरुण तेस्रो मुआब्जा विवाद : पावर हाउसको काम एक सातादेखि ठप्प

498

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छ्याङ्कुटी–पुखुवा सडक खण्ड सात दिनदेखि अबरुद्ध भएको छ ।

प्रवेशमार्गको छ्याङ्कुटी–पुखुवा सडक खण्डका पीडितहरुले मआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको प्रवेश मार्ग छ्याङ्कुटी–पुखुवा सडक खण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अबरुद्ध पारेको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए ।

प्रवेशमार्ग छ्याङ्कुटी–पुखुवा सडक खण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र आयोजनाको पावर हाउसको काम अबरुद्ध बनाएको अध्यक्ष राईले बताए । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर जग्गा अधिग्रहण गरेको अध्यक्ष राईको भनाइ छ ।

अरुण तेस्रो परियोजनाको करिब ५० प्रतिशतमाथि काम भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयबासीले चैत ८ गतेदेखि प्रवेशमार्ग र पावरहाउसको काम सडक अबरुद्ध पारेर आन्दोलनमा उत्रिएका हुन् । प्रवेशमार्गका स्थानीयबासीले गत मंगलबारदेखि भौतिक निर्माणका काम बन्द गरिदिएका छन् ।

छ्याङ्कुटीबाट पावर हाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद केही वर्षदेखि कायम छ । यो खण्डमा सरकारी मूल्यअनुसार मुआब्जाको रकम नदिएपछि स्थानीयबासीले सडक र काम ठप्प बनाएका हुन् । यस क्षेत्रका २०० परिवारले मुआब्जा नपाएको पीडितले गुनासो गरे ।

आयोजना पावर हाउस पुखुवामा भारतको पटेल इञ्जिनियरिङ कन्सल्टेन्सी कम्पनीले काम गरिरहेको छ । छ्याङ्कुटी–पुखुवा मुआब्जा संघर्ष समिति र अरुण तेस्रो सरकोर समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरुले बताए ।

कुल एक खर्ब ४४ अर्ब लागतमा निर्माण भइरहेको आयोजनाले २०२४ मा उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो जलविद्युत् निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएस)ले गरिरहेको छ ।

अरुण तेस्रो आयोजनामा भारतीय र नेपालीसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...