१३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन

310

कास्की । नयाँ मोदी–लेखनाथ १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गरका हुन् ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा रहेको सबस्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेको छ । नयाँ मोदी १३२ केभी स्वीचिङ स्टेसनमार्फत् मोदी जलविद्युत केन्द्र हुँदै लाहाचोक सबस्टेसन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेसनबाट हेम्जा ३३÷११ केभी सबस्टेसन पनि जोडिने छ ।

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत आपूर्ति दिइएको छ । यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेसनवाट आपुर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भइ उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाएका छन् । विद्युतको प्राविधिक चुहावटसमेत घटेको छ ।

पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण सुरु गरिएको हो । कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।

सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११ केभीका फिडरहरु रहेका छन् ।

कार्यक्रममा मन्त्री भुसालले विगतमा वत्ति बाल्ने कुरा मात्रैै चर्चा हुने गरेकोमा अब उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रमा विद्युतको उपभोग गर्ने अवस्थामा पुगिएको र नेपाल ऊर्जामा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेको बताइन् ।

आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत निर्यात गरी नेपालले बेहोरिरहेको व्यापार घाटा कम गरिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले हिउँदका केही महिना मात्र विद्युत आयात गर्नु पर्ने अवस्था रहेको बताइन् ।

‘नदीमा पानीको बहावका आधारमा विद्युत उत्पादन हुने आयोजना बढी रहेकाले बर्खामा धेरै विद्युत उत्पादन हुने र हिउँदमा कम हुने अवस्था छ, हिउँदको माग धान्न केही महिना मात्र आगामी वर्ष विद्युत आयात गर्नु पर्छ’, उनले भनिन्, ‘बर्खामा बढी भएको विद्युत निर्यातका लागि छिमेकी मुलुकसँग विद्युत व्यापार वृद्धिका लागि सकारात्मक छलफल भइरहेको छ, छिट्टै निष्कर्षमा पुग्नेछौँ ।’ उनले प्रसारण लाइन आयोजनाबाट प्रभावितलाई पनि लाभ दिलाउने विषयमा नीतिगत निर्णय गर्न लागिएको उल्लेख गरिन् ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रसारण लाइन निर्माणमा स्थानीयले उठाएको वास्तविक समस्यालाई सम्बोधन गरी आयोजना निर्माण गरिनु पर्नेमा जोड दिइन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपुर्ति गुणस्तरीय तथा भरपर्दो भएको र यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताए ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदीमा १३२ केभी स्विचिङ सबस्टेसन, लाहाचोकमा नयाँ सबस्टेसन र लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइनको बे निर्माण कार्य सम्पन्न भएको छ । सबस्टेसन निर्माणका लागि हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।

प्रसारण लाइन निर्माणका लागि कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । आयोजना अन्तर्गत नयाँ मोदी–लाहाचोक प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भइ लाइन सञ्चालनमा आइसकेको छ भने लाहाचोक–लेखनाथ खण्ड निर्माणाधीन छ । लाहाचोक–लेखनाथ खण्डमा पर्ने ७५ वटा टावरमध्ये १९ वटाको निर्माण बाँकी छ ।

माच्छापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै अवरोध गरेका कारण निर्माण प्रभावित भएको छ । प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...