ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

278

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठुलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ । ट्राफिक नियम अटेरी गर्नेलाई त निर्ममतापूर्वक कारबाही गर्नैपर्छ । यसबाट राजश्व पनि उत्पन्न हुन्छ र मान्छेको बानी पनि पर्छ ।’

बुधबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन् । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्वील लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताइन् ।

यस्तै, ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले नियम उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । यसअघि दैनिक झन्डै ८ देखि १० लाख रुपैयाँ राजश्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म राजश्व संकलन भइरहेको बताउँदै मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनले बताए ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंह, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नारायणप्रसाद भण्डारीलगायतको उपस्थिति थियो ।

Share This:
सम्बन्धित खबर
Loading...