उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री झाँक्री

257

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् ।

उनले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताइन् । मन्त्री झाँक्रीले भनिन्, ‘नयाँ नगरको भौतिक विकास योजना स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा गृहकार्य भइरहेको छ ।’

आइतबार साँझ भक्तपुरमा बसेको भौतिक विकास समितिको १६औँ बैठकलाई सम्बोधन गदै उनले नयाँ नगरलाई आधुनिक र सुविधा सम्पन्न रुपमा विकास गरिने बताइन् । मन्त्री झाँक्रीले भनिन्, ‘हामीले नयाँ नगर बनाउने भनेको छौँ, यसलाई अझ जनतासँग जोडेर कसरी लैजान सकिन्छ भन्ने बारे पनि हामी सचेत छौँ । यसका लागि भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौँ ।’

मन्त्री झाँक्रीले सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गासमेत छिटो खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नयाँ नगरको भौतिक योजना स्वीकृतिको लागि छिट्टै क्याविनेटमा लगिने बताइन् । एउटा प्राविधिक टोली बनाएर यसलाई तत्काल अघि बढाउन गृहकार्य सुरु गरेका छौँ, उनले भनिन् ।

उक्त बैठकमा राष्ट्यि योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले नयाँ नगर बनाउँदा स्थानीय तहलाई नै जिम्मेवार र जबाफदेही बनाउनुपर्ने बताए । उनले भौतिक योजना तत्काल स्वीकृत गर्नुपर्नेमा समेत जोड दिए ।

सहरी विकास सचिव डा.रमेश प्रसाद सिंहले नयाँ नगरमा पूर्वाधारसहितको काम गरिने बताए । उनले भने, ‘हामीले नयाँ नगरमा जग्गा एकीकरण गर्दादेखि नै पूर्वाधारको काम गर्नुपर्छ ।’ सुविधा सम्पन्न र आधुनिक ढंगले नयाँ नगर निर्माणको काम अघि बढाउन लागिएको बताउँदै सचिव सिंहले अव्यस्थिति सहरीकरणलाई रोक्न नयाँ नगर निर्माणको खाँचो रहेकोमा जोड दिए ।

सरकारले २०७४ वैशाख २४ गते काठमाडौँ उपत्यकाको चार क्षेत्रमा नयाँ नगर निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले एक लाख रोपनी जग्गाको कित्ताकाट रोक्का राख्ने निर्णय गरेको थियो ।

सहरी विकास मन्त्रालय अन्तर्गत रहेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले चार वटा नयाँ नगरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । डिपिआर अनुसार नयाँ नगर निर्माणको लागि भौतिक विकास समितिले नगरको भौतिक विकास योजना स्वीकृत गर्न लागि सहरी विकास मन्त्रालयले गृहकार्य अघि बढाएको छ ।

बैठकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नारायण भण्डारीलगायतको सहभागीता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...