जातीय विभेद तथा छुवाछुत मानव समाजका कलंक हुन् : प्रधानमन्त्री देउवा

238

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि संघर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरुप्रति सम्मान व्यक्त गरेका छन् । सोमबार ५७औँ अन्तर्राष्ट्रि जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ ।

दिवसका अवसरमा शुभकामना सन्देशमार्फत् उनले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको उल्लेख गर्दै २१औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताए ।

मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मनपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ । साथै, संयुक्त राष्ट्र संघको जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञा पत्रले पनि जातीय भेद्भावलाई कानुनतः दण्डनीय बनाउँदै सबै मानवका लागि समानता, स्वतन्त्रता र अविभेदको सुनिश्चितता गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल यी अन्तर्राष्ट्रिय सन्त्रि तथा प्रतिज्ञा पत्रहरुको पक्ष राष्ट्र भएको नाताले तिनमा भएका व्यवस्थाहरुको कार्यान्वयन गर्नु हाम्रो कानुनी र नैतिक दायित्व भएको उल्लेख गरेका छन् ।

नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछुत तथा भेद्भाव विरुद्धको हकलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै उनले तदनुसार विभिन्न ऐन, नियम तथा निर्देशिका एवम् संरचनागत व्यवस्थामार्फत् जातीय भेद्भाव तथा छुवाछुतलाई उन्मूलन गर्न विभिन्न प्रयासहरु भएको बताए ।

उनले आजभन्दा करिब २४ वर्ष अगाडि आफ्नै प्रधानमन्त्रित्व कालमा विसं. २०५४ असोज १५ गते उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति र मिति २०५८ साउन ३२ गते राष्ट्रिय दलित आयोग गठन भएको स्मरण गराएका छन् ।

विसं २०६३ जेठ २१ गतेका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...