काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्व विद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको ३ दिने विद्यालय खेलकुद शिक्षक तालिम (ISF School Sports Teacher Training Course 2022) को उद्घाटन गर्दै मन्त्री गहतराजले नेपालमा खेलकुद विश्व विद्यालयको आवश्यकता महसुस भएको बताए ।
नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने खालको उपयुक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री गहतराजले त्यसको आधार तयार गर्न खेलकुद विश्व विद्यालय सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दो माध्यमका रूपमा खेलकुदलाई हेरिने गरेता पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको मन्त्री गहतराजको गुनासो थियो । “राज्यले कुल बजेटको ०.१६ प्रतिशत बजेट मात्र युवा तथा खेल क्षेत्रकालागि छुट्याएको छ”, उनले भने, “यसैबाट सबै प्रशासनिक तथा खेल पूर्वाधार निर्माणको काम गर्नुपर्छ, अनि कसरी हुन्छ खेल क्षेत्रको विकास ।”
खेलकुदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री गहतराजले स्वस्थ्य, राष्ट्रिय पहिचानसँगै उत्पादनको क्षेत्रमा समेत खेलकुदको भूमिका महत्वपूर्ण रहने जिकिर गरे ।
पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु हुने दर बढ्दै गइरहेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, “हामी अस्पताल निर्माणलाई मात्र विकास भएको ठान्छौँ तर हरेक जिल्लामा खेल मैदान निर्माण भए अस्पतालको आवश्यकता नै पर्दैन ।” स्वास्थ्य नागरिक उत्पादनको आधार नै खेलकुद भएको मन्त्री गहतराजको भनाइ थियो ।
सातदोबाटोस्थित प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयको हाताभित्र शनिबारदेखि तीन दिने विद्यालय खेलकुद शिक्षक तालिम सञ्चालन गरिएको हो ।