काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम चैत दोस्रो साता थाइल्यान्डसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा जुटेको छ ।
थाइल्यान्डको राष्ट्रिय टिम र एक क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिएको हो ।
चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
फिफा वरीयतामा नेपाल १६७औँ स्थानमा छ भने थाइल्यान्ड ११२औँ स्थानमा छ ।
मैत्रीपूर्ण खेल एएफसी एसियन कप छनोट तयारीका लागि पनि महत्वपूर्ण हुने प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए । उनले एसियन कप छनोट अगाडि नेपालको खेलको अवस्थाको पनि मूल्याङ्कन हुने बताए ।
थाइल्यान्ड बलियो टिम भएपनि मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गर्नेगरी नै तयारी भइरहेको उनको भनाइ छ ।
नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो । छनोटमा नेपाल कठिन समूहमा छ । समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् ।