गुणस्तरीय जीवनका लागि सहरी विकास नीति परिमार्जन : मन्त्री झाँक्री

314

पोखरा । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय सहरी विकास नीति आवश्यक रहेको बताएकी छन् । सहरी नीति परिमार्जन र सहरी विकास ऐन गुणस्तरीय जीवनसँग विषय रहेको भन्दै यसका उपयुक्त नीति आवश्यक रहेको बताएकी हुन् ।

सहरी विकास मन्त्रालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले सहरी नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको समेत बताइन् ।

उनले भनिन्, ‘सहरी विकास नीतिमा सबैको अपनत्व होस् भनेर सबैसँग मन्त्रालयले छलफल गरिरहेको छ । नीति परिमार्जन र ऐन बनाउने काम विज्ञहरूलाई जिम्मा दिँदा पनि हुन्थ्यो । तर, यसमा सबैको स्वामित्व हुनुपर्छ भनेर नै यसरी छलफल गर्नुपर्ने आवश्यकता परेको हो । यो गुणस्तरीय जीवनसँग जोडिएको विषय हो । यसमा सबैको स्वामित्व भएर नीति निर्माण भयो भने शहरीकरणमा दीर्घकालीन समस्या समाधान हुन्छ ।’

सहरी विकास नीतिले सहरी प्रणाली समुन्नत बनोस् भनेर नीति परिमार्जन र सहरी विकास ऐन ल्याउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले बताए । उनले विभिन्न प्रदेशमा आयोजित कार्यशालामा प्राप्त सुझावहरू सहरी नीति परिमार्जन र ऐन निर्माणमा समेटिने पनि बताए ।

गण्डकी प्रदेश नीति तथा योजनाका आयोगका सदस्य रघुराज काफ्लेले नेपालमा सहरीकरणको प्रक्रिया तीव्र बन्दै गएको बताए । उनले सरकारले परिमार्जन गर्ने शहरी नीति र ल्याउने ऐन आगामी दिनमा व्यवस्थित सहरीकरणका लागि महत्त्वपूर्ण हुने बताए ।

उनले भने, ‘नेपालमा सहरीकरणको प्रक्रिया तीव्र रूपमा बढिरहेको छ । आगामी भविष्यमा बन्ने सहरीकरणका लागि सहरी विकास नीति परिमार्जन र सहरी विकास ऐनले व्यवस्थित रूपमा कार्यान्वयन हुन्छ ।’ उनले परिमार्जित शहरी नीति र शहरी विकास ऐनमा टेकेर नमुना सहर निर्माण गर्न सकिने पनि उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...