नेपालले महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम गरेको छ : मन्त्री रेग्मी

293

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौँ शताब्दीको ठुलो चुनौती रहेको र यसलाई विश्वव्यापी रुपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित महिलाहरुको अवस्था विषयक संयुक्त राष्ट्रसंघको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाहरुको सशक्तिकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको बताइन् ।

“नेपालले महिलाहरुको हकलाई मौलिक हकका रुपमा राखेको र यसले सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य, शिक्षा, समान वेतन, सामाजिक सुरक्षा र सम्पत्तिको अधिकारसमेत सुनिश्चित गरेको छ,” उनले भनिन् ।

पछिल्लो समय जलवायु परिवर्तनले महिलाहरुमा गम्भीर असर पारेको उल्लेख गर्दै महिला र बालबालिकालाई यसबाट परेको प्रभावको क्षति न्यूनीकरण गर्न यस विषयमा नीति निर्माण गर्ने निर्णायक एवम् तहमा नै महिलाहरुलाई राख्नुपर्नेमा पनि जोड दिइन् ।

उनले नेपाल सरकारले सन् २०४५ सम्ममा शून्य उत्सर्जनको लक्ष्य राखेको जानकारी गराउँदै नेपालले पर्यावरणीय परिवर्तनको नीति र कार्ययोजनामा लैंगिक समानता र सामाजिक समावेशीकरणका विषयमा महिलाहरुलाई निर्णायक तहमा राखेको बताइन् ।

नोपलले देशका हरेक तहमा महिला र बालबालिकाको सहभागिताको पक्षमा प्रतिबद्ध रहेको बताउँदै यसमार्फत् लैङ्गिक समानता र दिगो विकासको लक्ष्य हासिल हुने धारणा पनि राखिन् ।

मार्च १४ देखि २२ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा मन्त्री रेग्मीको नेतृत्वमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईलगायत सहभागी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...