जनयुद्ध र उपलब्धिलाई कसरी हेर्ने भन्ने कुरा गम्भीर बहसको विषय : प्रचण्ड

184

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गायक प्रकाश सपुतको गीतमा त्यस्तो विरोध आवश्यक नभएको छन् ।

धनगढीमा सञ्चारकर्मीको सोधेको प्रश्नको जबाफ दिँदै प्रचण्डले जनयुद्ध र यसका उपलब्धिलाई कसरी हेर्ने भन्ने कुरा गम्भीर बहसको विषय भएको बताए ।

कलाकार र सर्जकहरुले आफ्नो दृष्टिकोण अनुसार विभिन्न रचना गरेका हुने बताउँदै प्रचण्डले प्रकाश सपुतको पछिल्लो भिडियोले समेत एउटा विचारको प्रतिबिम्बन गरेको प्रतिक्रिया दिए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

प्रकाश सपुत गम्भीर सामाजिक विषयमा गीत निर्माण गर्दै आएको बताउँदै प्रचण्डले जनयुद्धलाई समग्र कसरी हेर्ने र यसको प्रभाव तथा असरको बहस लामोसमयसम्म चल्दै जाने बताए । माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने ।

“मैले पुरै गीत हेर्न पाएको छैन । मिडियामा आएका क्रिया प्रतिक्रिया हेरेको छु । तर गीतलाई लिएर आपत्ति नै जनाउनुपर्ने मलाई लाग्दैन,” प्रचण्डले भने, “यो गम्भीर बहसको विषय हो, हामी मात्रै हैन, हामी पछि पनि यो बहस चलिरहन्छ ।”

म कतारमा जाँदा होस् या मलेसियामा जाँदा होस् सयौं संख्यामा जनयुद्धमा सहभागी लडाकु त्यहाँ बडो दुखपूर्ण जीवन बिताएका छन् । प्रचण्डले भने, “मैले जतिलाई भेटे, उहाँहरु त्यति दुःख गरेर पनि मलाई भन्नुहुन्थ्यो, कमरेड, तपाईंले फेरि पनि अप्ठ्यारो परे भन्ने भन्नुस्, जस्तोसुकै त्याग र संघर्ष गर्न तयार छौँ । हामी विचलित भएका छैनौँ । देशको निम्ति, राष्ट्रको निम्ति, शान्ति प्रक्रियामा आउनैपर्थ्यो, आइयो, सोचेजस्तो नभएपनि देशका उत्पीडित वर्ग, जाति, लिंग र समुदायले केही न केही अधिकार पाएकै छन् । गणतन्त्र र समावेशी समानुपातिक संरचना बनेको छ । यसमा गर्व गर्नु पर्ने ठाउँ छ भन्नेहरु पनि छन् ।”

प्रचण्डले अगाडि भने, “अर्कोतर्फ, माओवादीले बर्बाद गर्यो, हामीलाई कत्रो सपना देखाएर जनयुद्धमा ल्याएर बर्बाद गर्यो भन्ने पनि छन् । बलिदानका कैयन् कीर्तिमान समेत छन् । त्यसैले यो बहसको विषय हो । यो गम्भीर विषय हो । यसमा हामीपछि पनि बहस चलिरहन्छ ।”

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धनगढी आइपुगेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...