प्रचण्डले भने– इतिहासमा मैले डरलाग्दो दबाब र धम्की झेलेको छु

262

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पोष्टबहादुर बोगटीलाई सिनियर भनेका नेताहरुकै सौहार्द ढंगले आलोचना गर्न सक्ने नेताको रुपमा स्मरण गरेका छन् ।

नुवाकोटको बिदुरमा स्व.नेता बोगटीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेताहरुबीच विवाद हुँदा टेबल ठट्याएर कुरा राख्ने गरेको स्मरण गरेका हुन् ।

डा.बाबुराम भट्टराई र मोहन वैद्यप्रति लक्षित गर्दै प्रचण्डले बोगटीले विद्वानहरुको समेत पसिना निकाल्ने गरेको प्रसंग सुनाए । “डाक्टर र वैद्यले बेलाबेला हेडक्वार्टरलाई सताउने गर्थे । त्यतिबेला पोष्टबहादुर बोगटीले डाक्टर होस् या वैद्य सबैको पसिना निकाल्थे,” उनले भने ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले युद्धलाई शान्तिदेखि संविधानको बाटोमा ल्याउन असाधारण भूमिका खेलेको बताए । “जनयुद्धलाई शान्तिपूर्ण ल्याउने कुरा सामान्य कुरा थिएन, २०६३ पछिको परिवर्तनलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउनु पनि युगान्तकारी थियो,” उनले भने,“गणतन्त्रपछि नयाँ संविधान घोषणा पनि सामान्य थिएन ।”

शान्ति सम्झौता विशेषगरी सेना समायोजनमा आफूले ठुलो जोखिम मोलेको उनले दाबी गरे ।

इतिहासमा डरलाग्दो दबाब र धम्की आफूले झेलेको भन्दै प्रचण्डले इतिहास र जनताले सत्य के हो एक दिन मूल्याङ्कन गर्ने बताए ।

प्रचण्डले नेपालको राजनीतिमा माओवादी सधैँ संकट मोचकको भूमिकामा देखिएको जिकिर गरे । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमसीसी विवादमा माओवादीले संकट मोचनको भूमिका खेलेको उनले बताए ।

उनले भने,“व्याख्यात्मक घोषणामार्फत् देशलाई फेरि अर्को दुर्घटनाबाट जोगाएका छौँ । आगामी दिनको चुनावमा जनताले पक्कै पनि यसको मूल्याङ्कन गर्नेछन् ।”

Share This:
सम्बन्धित खबर
Loading...