खेलकुदमन्त्री र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे छलफल

302

काठमाडौँ । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज(अथक) र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री अथकले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग उनकै कार्यालयमा भेट गरी पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल गरेका हुन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउँदै मन्त्री गहतराजले आवश्यक तयारीका लागि समन्वय गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह गरेका छन् । स्थानीय निर्वाचनका कारण आगामी जेठ महिनाको पहिलो सता मात्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री गहतराजले सोही डेटलाइनमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थाल्न आग्रह गरे ।

स्थानीयस्तरबाटै खेलाडीहरु छनोट भएर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएकाले तत्काल स्थानीय तथा प्रदेशस्तरका खेल गतिविधि सञ्चालन गर्नसमेत मन्त्री गहतराजले आग्रह गरे ।

जबाफमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न पाउनु गौरवको कुरा भएको बताए । केन्द्र सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले औपचारिक रुपमै तयारी सुरु गर्ने प्रतिबद्धता जनाए ।

शिष्टाचार भेटवार्तामा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलबहादुर थापालगायतको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...