त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो

271

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा उक्त श्रम डेस्क हटाउने भएको हो ।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीले बुधबार विमानस्थलमा राखिएको श्रम डेस्क हटाएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अनलाइन सूचना प्रणाली (फेमिस) कार्यान्वयनमा आइसकेको अवस्थामा विमानस्थल श्रम डेस्क आवश्यक नभएको हुँदा हटाइएको जानकारी दिए ।

उनका अनुसार विमानस्थलमा श्रमिकका लागि यसअघि छुट्टै द्वारबाट प्रवेश दिने गरिएकामा अहिले भने सबै द्वारबाट प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो र सहज बनाउन बिहीबारदेखि तीनवटै द्वारबाट प्रवेश पाउने व्यवस्था गरिएको महानिर्देशक पौडेलले जानकारी दिए ।

यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रुपमा श्रम डेस्कमा गइ डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अहिले श्रमिकले श्रम डेस्क नगइ सबै द्वारबाट विमानस्थलमा प्रवेश पाउन थालेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक पौडेलले यसअघि श्रम स्वीकृति सक्कली वा नक्कली हेर्न श्रम डेस्क राखिए पनि अहिले अनलाइन सफ्टवेयर राखिएसँगै त्यसको औचित्य सकिएकाले हटाइएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...