ओलम्पिक मेडलिष्टलाई २ करोड पुरस्कार : खेलकुदमन्त्री गहतराज

274

काठमाडौँ । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको हौसला बढाउने उद्देश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन् ।

मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)द्वारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीहरुको पुरस्कार सुनिश्चितताका लागि मन्त्रालयले पुरस्कारसम्बन्धी कार्यविधि तयार गर्न लागेको बताए ।

मन्त्री गहतराजले ओलम्पिकमा स्वर्ण पदक ल्याउने नेपाली खेलाडीहरुलाई २ करोड नगद राशीले सम्मानित गर्ने उद्घोष समेत गरे । “मन्त्रालयले ओलम्पिक मेडलिष्ट खेलाडीलाई २ करोड नगदराशीले पुरस्कृत गर्ने गरी कार्यविधि बनाइरहेको छ,” उनले भने, “उक्त राशी बढाउन थप प्रयास गर्नेछु ।”

नेपाली खेलाडीहरुले पछिल्लो समय विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गर्दै आएपनि ओलम्पिकमा भने कुनै प्रतिफल ल्याउन नसकेको प्रति इंगित गर्दै मन्त्री गहतराजले भने, “तपाईंहरुले खेलका विभिन्न पहाड चढ्नुभएको छ, अब खेल क्षेत्रको सगरमाथा (ओलम्पिक) चढ्ने उद्देश्य राख्नुहोस् ।”

सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको अनुभुती भएको बताउँदै मन्त्री गहतराजले उक्त दृष्टिकोण बदल्नसमेत खेलाडी तथा खेल संघहरु लाग्नुपर्ने बताए ।

मंगलबार ललितपुरको गोदावरी नगपालिकास्थित बज्र बाराही मन्दिर परिसरमा भएको १६औँ एनएनआइपिए स्पोर्टस अवार्डमा विभिन्न २७ विधागत खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका छन् ।

जसमध्ये राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...