महाशिवरात्रिले नेपालीको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस् : राष्ट्रपति भण्डारी

241

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।

“नेपाली भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवम् निवासस्थल मानिने पवित्र पाशुपात क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवाको विषय हो । हाम्रो मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइन्छ,” सन्देशमा भनिएको छ ।

आराध्यदेव पशुपतिनाथ एवम् किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरुप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ ।

वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरुप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवम् संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रुपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...