काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभाबाट पारित ११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने एमसीसी खारेज हुने बताएका छन् ।
११ बुँदे व्याख्यात्मक टिप्पणीसहित आइतबार संसद्बाट एमसीसी पास भएको भोलिपल्ट प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
“एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावदा जस्तो होइन,” उनले भने,“यसलाई अमेरिकाले मान्नैपर्छ । यदि नमानेमा एमसीसी सम्झौता नै खारेज हुन्छ ।”
उनले संविधान र सरकार खतरामा पर्ने भएकाले अनुमोदन गराउने बाटोमा हिँडेका बताए । “सम्पूर्ण प्रक्रियालाई दुर्घटनामा पार्न सकिँदैन । बिना सर्त जस्ताको तस्तै अनुमोदन गर्नेभन्दा पनि घोषणासहित पारित गर्दा कानुनी मान्यता प्राप्त गर्ने कानुनविद्हरुले सल्लाह दिनुभयो । त्यही अनुसार अघि बढ्यौँ,” उनले भने ।
एमसीसीकै कारण गठबन्धन भत्काउने आफ्नो चाहना नरहेको उनले स्पष्ट पारे । तर, केपी ओलीको १४ सांसद्को राजीनामाको रटले गर्दा समस्या आएको बताए ।