काठमाडौँ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् ।
निर्वाचन आयोगले दल दर्ताका लागि फागुन ५ गतेदेखि १५ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । उक्त अवधिमा १११ राजनीतिक दलमध्ये ८० दलले दल दर्ताको निवेदन दिएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
२०७९ वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले तीव्र रुपमा काम अगाडि बढाइरहेको छ ।
संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।
दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ ।
स्थानीय तह निर्वाचनमा राष्ट्रिय दलको मान्यताप्राप्त ६ वटा राजनीतिक पार्टीले मात्रै चुनाव चिन्ह पाउने भएका छन् । अन्य दलले भने स्वतन्त्र चुनाव चिन्हमा उठ्नुपर्ने छ ।
नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपाले मात्रै दलको चुनाव चिन्ह पाउनेछन् ।
स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्रै पार्टीको चुनाव चिन्ह पाउने कानुनी प्रावधान छ ।