शिक्षामन्त्री र योजना आयोगका उपाध्यक्षबीच छलफल, शिक्षामा बजेट बढाउन आग्रह

251

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरेका छन् ।

शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलसँग छलफल गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउन आग्रह गरेका हुन् ।

मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रका लागि आवश्यक बजेट नभएको भन्दै शिक्षा क्षेत्रका लागि कम्तीमा पनि २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरे । त्यस्तै, उनले सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात प्रदेशमा नमुना आवासीय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्साङ्कन, तथा विभिन्न विषयका लागि तीन हजार शिक्षकका लागि दरबन्दी सिर्जनालगायतका कार्यक्रम मन्त्रालयले योजनामा राखेको बताए ।

प्राविधिक धारको शैक्षिक कार्यक्रम ७५३ स्थानीय तहमा पुर्याउने लक्ष्य रहेको मन्त्री पौडेलले बताए ।

छलफलका क्रममा योजना आयोगका उपाध्यक्ष पौडेलले शिक्षा मन्त्रालयका कार्यक्रम सकारात्मक रहेको भन्दै गत आर्थिक वर्षमा भन्दा आगामी वर्ष शिक्षामा बजेट थप गर्ने जानकारी दिए ।

उनले शिक्षामा बजेट थप गर्दा सुदूरपश्चिम र कर्णालीका विद्यालयको गुणस्तरमा पनि वृद्धि हुनुपर्ने बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...