हारको संघारबाट जोगियो थ्री स्टार

304

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लब तथा थ्री स्टार र ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने जावलाखेलले बनाएको थियो । तर, त्यसलाई जावलाखेलले जोगाउन सकेन ।

खेलको १४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । सुवास गुरुङको कर्नरमा उनले हेडरमार्फत् गोल गरे । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोडेर सिजनको अन्त्य गरेको छ । संकटाले १३ खेलमा १६ अंक सहित सिजनको अन्त्य गरेको छ ।

त्यस्तै, एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार थ्री स्टारले पनि ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडले बनाएको सुरुवाती अग्रता उल्टाएर थ्री स्टारले बराबरी खेलेको हो ।

खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो ।

त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औँ मिनेटमा प्रशान्तले गोल गरेका थिए ।

बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ । ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३औँ स्थानमा रहेको छ । ब्रिगेड यस सिजन रेलिगेसनमा परिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...