संसद जानुअघि एमसीसीबारे प्रचण्ड, माधव र झलनाथबीच छलफल

108

काठमाडौँ । बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।

एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी छन् ।

५ दलीय सत्ता गठबन्धनमा रहेका दुवै दलले एमसीसी संसदमा टेबल गर्न दिए पनि प्रस्तावको विपक्षमा उभिने निर्णय गरेका छन् ।

बैठकमा सहभागी एकीकृत समाजवादीका सम्मानीत नेता खनालले बैठकमा एमसीसीका विषयमा छलफल भएको जानकारी दिए । एमसीसीका सन्दर्भमा आफूहरु ‘शिरदेखि तिरसम्म’ स्पष्ट रहेको खानलको भनाइ छ ।

बैठकमा कुनै निर्णय नभए पनि एमसीसीका सन्दर्भमा संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल भएको खनालले बताए ।

सत्तारुढ दल नेपाली कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छन् भने माओवादी र एकीकृत समाजवादीले अनुमोदनका सम्दर्भमा निर्णय गरिसकेको छैन ।

दुवै दलका जनवर्गीय संगठनहरुले एमसीसीलाई राष्ट्रघाती भन्दै विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा रहेपनि सत्तारुढ दुई दलले साथ नदिने भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को साथ खोजिरहेका छन् । तर, एमालेले समेत एमसीसीमा साथ दिने÷नदिने स्पष्ट पारिसकेको छैन । एमालेले एमसीसीमा साथ दिन सभामुख अग्नि सापकोटाको बहिर्गमन र माधव नेपालको पार्टी खारेज गर्नुपर्ने शर्त अघि सारेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...