एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नु हुँदैन : मन्त्री झाँक्री

218

चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् ।

बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री झाँक्रीले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरे भूमिका खेल्न नहुने बताएकी छन् ।

“कि त सरकार छोडेर सडकमा जानुपर्यो । कि सरकारमा बसेर सडकमा जानु भएन,” उनले भनिन् । सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

उनले थपिन्,“विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताइन् ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसीसी स्वीकार गर्दा र अस्वीकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।

पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसदमा एमसीसी टेबल गर्न चाहेको भन्दै उनले अहिले नेकपा (एमाले)को मौनताले केही असहज बनाएको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...