त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट र टिकटबिना युवक जहाजभित्र पुगेपछि…

208

काठमााडौँ । सोमबार राति १०ः४५ मा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज कतार उड्न लागेका थियो ।

क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पासपोर्ट र टिकटसमेत नभएका व्यक्ति दर्जनौँ प्रहरी र अध्यागमनको चेकपोष्ट छल्दै कतार जाने विमानमा चढेका थिए ।

विमानभित्रको बिजनेस क्लासको सिटमा बसेका उनलाई विमानका कर्मचारीले कागजात जाँच गर्ने क्रममा पासपोर्ट, टिकटसमेत नपाइएपछि विमानस्थल सुरक्षामा चरम लापरबाही भएको पाइएको छ ।

कागज नभेटिएपछि ती युवकलाई विमानबाट झारिएको थियो । यसरी बिना कागजात विमानमासम्म पुगेर कतार उड्न लागेको जहाजमा चढ्ने व्यक्ति थिए रौतहटका १८ वर्षीय हस्पम आलम ।

उनी यसरी बिना कागजात विमानमा चढेको यो पहिलो घटना भने होइन । करिब एक महिनाअघि पनि उनी यसैगरी विमानमा चढेका थिए । यसले विमानस्थल सुरक्षा चरम लापरबाही रहेको देखिएको छ ।

सुरक्षाकर्मीको घेरा छल्दै विमानमा चढेका आलमलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरिएको छ । आलमको मानसिक अवस्था ठिक नभएको प्रहरी स्रोतको भनाइ छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

उनी कोटेश्वरतर्फको बारबाट प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...