आर्मी दोस्रो स्थानमा उक्लियो

306

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौँ जित निकालेको छ ।

यो जितसँगै आर्मी दोस्रो स्थानमा उक्लिएको छ । संकटाको पछिल्ला पाँच खेलमा यो तेस्रो हार हो ।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले संकटालाई ३–१ गोल अन्तरले हरायो । खेलको १५औँ मिनेटमा संकटाले खेलमा अग्रता बनायो । उसका लागि उत्तम राईले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो ।

६०औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै टिमलाई एक एक गोलको अवस्थामा पुर्याए । त्यसपछि ७४औँ मिनेटमा आर्मीले खेलमा अग्रता बनायो । उसका लागि जर्जप्रिन्स कार्कीले उत्कृृष्ट फिनिस गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको ८६औँ मिनेटमा आर्मीले तेस्रो गोल गर्यो । उसका लागि टेकबहादुर बुढाथोकीले गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । जारी लिगमा आर्मीको १२ खेलमा पाँच जित, सात बराबरीका साथ २२ अंक भएको छ । १२ खेलमा संकटाको १५ अंक छ ।

यसअघि मंगलबार नै भएको खेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।

दशरथ रंगशालामा भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

एपिएफका डिफेन्डर एडमा डोम्बियाले गोलकिपर युया कुरियामा पोजिसनभन्दा बाहिर रहेको अवस्थामा क्लियर गरेको बल नियन्त्रणमा लिँदै उनले सहजै गोल गरे ।

खेलको ४१औँ मिनेटमा प्रदीपले गोल गर्दै एपिएफलाई १–१ गोलको बराबरीमा ल्याए । पुलिसका डिफेन्डरले क्लियर गरेको बलमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले उत्कृष्ट गोल गरे । यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ ।

एपिएफले १२ खेलमा १५ अंक जोडेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...