एडिबीसँग नेपालले थप साझेदारी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

117

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैंक (एडिबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन् । शुक्रबार एडिबीका कार्यकारी निर्देशक डा.वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले सो बताए ।

नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडिबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ,’ उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पुर्याउन पनि एडिबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’ उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको औँल्याए ।

अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने उनले बताए ।

छलफलमा उनले एडिबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्याएको सहयोगप्रति बैंकलाई धन्यवादसमेत प्रदान गरे । उनले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...