काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।
११८ रनको सामान्य लक्ष्य पछ्याएको आयोजक ओमानमाथि ३९ रनको जित निकाल्दै प्रतियोगितामा नेपाले विजयी सुरुवात गरेको हो । योसँगै समूह ‘बी’मा रहेको नेपालले शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा समेटियो । ओमानका विकेटकिपर नसिम सुखीले सर्वाधिक २४ रन बनाए । अन्य ब्याटरहरुले दोहोरो स्कोरमा रन जोड्न सकेन ।
ओमानलाई सस्तैमा समेट्न नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । यस्तै, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ तथा जितेन्द्र मुखिया र अभिनाश बोहराले एक–एक विकेट हात पारे ।
यसअघि, अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ११७ रन जोड्यो ।
नेपालका आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । यस्तै, सन्दीप लामिछाने १६ रनमा आउट हुँदा लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमलसिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलिले सर्वाधिक तीन विकेट हात पारे । विलाल खानले दुई–दुई विकेट हात पारे ।