अर्थमन्त्री र पत्रकार महासंघका प्रतिनिधिमण्डलबीच भेटवार्ता

334

काठमाडौँ । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री जर्नादन शर्मालाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह गरेका हुन् ।

महासंघको टोलीले नेपाल सरकारले आर्थिक वर्ष २०७८÷८९ को बजेटमार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको कार्यान्वयनमा ल्याउन, पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोरोनाले मिडियामा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न र कोभिड प्रभावित पत्रकारका लागि लेखनवृत्तिको व्यवस्था गर्न मन्त्री शर्मासमक्ष आग्रह गरेको छ ।

महासंघले कोभिडका कारण सहुलियतपूर्ण ऋण लिने सञ्चारमाध्यमको अनुगमन गर्न र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाह नगर्नसमेत आग्रह गरेको छ । साथै, महासंघको निर्माणाधीन भवनका लागि बजेट व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

भेटघाटका क्रममा मन्त्री शर्माले महासंघले उठाएका विषयवस्तुलाई सकारात्मक रूपमा लिँदै त्यसको कार्यान्वयनमा सरकारको तर्फबाट कुनै कसर नराखिने प्रतिवद्धता व्यक्ति गरे।

उनले तत्कालका लागि पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने बताए। मन्त्री शर्माले अनलाइनलाई तत्काल वर्गीकरणको प्रक्रियामा लान बजेट छुट्याइएको बताउँदै महासंघको निर्माणाधीन भवनको लागि भवन निर्माण विभागमार्फत प्रक्रिया अगाडि बढाइ आवश्यक सहयोग गर्ने बताए ।

प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य विकास कार्की सम्मिलित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...