दोस्रो स्थानको मनाङ एपिएफसँग स्तब्ध

377

काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपिएफ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा एपीएफले थप २ गोल गोल दोस्रो हाफमा गरेको हो । खेलको ३७औँ मिनेटमा मनाङका कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको एपिएफले ३ मिनेटपछि नै बराबरी गोल गरेको थियो । ४०औँ मिनेटमा एपिएफका आशिष लामाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा मनाङविरुद्ध हाबी देखिएको एपिएफले ८१औँ मिनेटमा गोल गर्दै अग्रता २–१ मा पुर्‍याएको थियो । एपिएफका लागि मनिकुमार लामाले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि ८७औँ मिनेटमा एपिएफका लागि नवीन लामाले गोल गरेपछि एपीएफ ३–१ ले विजयी भयो ।

जारी लिगमा एपिएफले तेस्रो जित दर्ता गरेको हो । जितपछि एपिएफ तालिकामा १४ अंक बनाउँदै आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको मनाङ २० अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अर्को खेलमा एनआरटीले संकटालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे । खेलको २ औँ मिनेटमा स्टेफेन एनआरटीलाई जित दिलाउन निर्णायक गोल गरेका हुन् । सरोज तामाङको लामो पासमा संकटाका दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए ।

यस जितसँगै एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा छ । त्यस्तै संकटाले ११ खेलमा १५ अंक जोड्दै छैटौ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...