काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक बिहीबार बालुवाटारमा विमोचन गर्दै उनले संसद्ले एमसीसीबारे गर्ने निर्णय स्वीकार गर्ने बताएका हुुन् ।
“पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ । त्यसका लागि मैले पहल गरिरहेको छु,” उनले भने,“अब सरकार संसद्मा टेबल गर्न चाहन्छ, पास फेल जे हुन्छ, स्वीकार्नुपर्छ ।” उनले नेपालमा जति पनि परिवर्तन भए ती सबै कांग्रेसकै काराण भएको समेत दाबी गरे ।
उनले एमसीसीको पक्षमा उभिन डराउन नहुने पनि बताए । “एमसीसीका पक्षमा उभिन डराउनु हुँदैन,” उनले भने,“यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।”
कार्यक्रममा महामन्त्री गगन थापाले कसले के भन्यो भन्दा पनि आफ्नो दायित्वबाट च्युत हुन नहुने बताए । “क्षणिक लाभका लागि बोली फेर्न हुँदैन । बालुवाटार एक र बालकोट अर्को बोल्ने कांग्रेसले गर्दैन,” थापाले भने ।