मछिन्द्रलाई दुई खेल अगावै लिगको उपाधि

241

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगावै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरेका हुन् ।

सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाएपनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गरे । उक्त गोल नोर्लान र मछिन्द्रका खेलाडीले चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई समर्पण गरे । मनिषले च्यासलबिरुद्धको खेलमा चोट बोकेका थिए ।

मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो । यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ ।

त्यस्तै ’ए’ डिभिजन लिग अन्तर्गत बुधबार नै त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।

एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो । खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ । हिमालयनले ११ खेलमा १३ अंक जोडेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...