एमसीसी पास गर्न ढिलाइ गर्नु हुँदैन : सुजाता कोइराला
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलाइ गर्न नहुने बताएकी छन् ।
नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा नेतृ कोइरालाले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै मिलेर पास गर्नुपर्ने बताइन् ।
अनुदान लिन्न भन्नु हास्यास्पद भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने उनको भनाइ छ ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले एमसीसी परियोजना अनुदान मात्र भएकाले यसलाई स्वीकानुपर्ने बताइन् । उनले नेपालमा ठुला परियोजना ल्याउन नदिने समुदाय रहेको टिप्पणी पनि गरिन् । उनले नेपाललाई कसैले कब्जा गर्न नसक्नेसमेत बताइन् ।
“नेपालमा एउटा समुदाय छ । ठुला परियोजना ल्याउनै दिँदैन । यो अनुदान हो, लिनुपर्छ,” उनले भनिन्,“नेपालले आजसम्म धेरै देशबाट सहयोग लिएको छ । कसैले कब्जा गरेको त छैन । नेपाललाई कसैले कब्जा गर्न सक्दैन । हामी कब्जा गर्न पनि दिँदैनौँ ।”
नेतृ कोइरालाले एमालेसहितका सबै दलहरुले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकाले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताए ।