काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ५–२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे । श्यामबाबु केप्छ्याकीले एक गोल थपे । ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १४औँ मिनेटमा सुशीलले फ्रि–किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २५औँ मिनेटमा ड्याडीले फ्रि–किक मार्फत गोल गर्दै ब्रिगेडलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको २७औँ मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्रि–किकमा उनले हेडर मार्फत गोल गरे ।
७६औँ मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–१ को अग्रता दिलाए । प्रिजेन तामाङको पासमा उनले ब्रिगेडका गोलकिपर सिंहलाई बिट गर्दै सहजै गोल गरे ।
खेलको ७८औँ मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८६ औँ मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरेपनि फ्रेन्ड्स ५–२ ले विजयी भयो ।