संसद्लाई भेन्टिलेटरमा पुर्‍याउने काम भयो : ओली

361

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभामा सहभागी हुन चाहेको भए पनि सरकारले त्यो अवसर नदिएको बताएका छन् । संसद् निष्प्रभावी भएको तर निर्वाचन गर्न नखोजिएको उनले बताए ।

“सभामुख हाम्रो पार्टी फुटाउने अभियानमा लाग्छन् । हाम्राविरुद्ध मुद्दा लड्न अदालत पुग्छन् । यस्तो अवस्थामा संसद् निरर्थक भइरहेको छ । निर्वाचन हुन नदिने, संसद् चल्न नदिने काम भएको छ,” उनले भने, “निष्प्रभावी बनाएर संसद्लाई भेन्टिलेटरमा राखिएको छ । ज्युँदै छैन भनम् भने संसद् छ तर ताजा जनादेश लिने भन्दा प्रतिगमन भन्छन् ।”

‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण तलिम’ कार्यक्रमको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै ओलीले एमालेलाई जनतामा विश्वास रहेको दाबी गरे । आफ्नै पार्टीको सरकार गिराउन र पार्टी फुटाउन सहभागी हुनेहरुसँग कुनै तालमेल नहुनेसमेत उनले बताए ।

“साउन २५ गते हामीले निष्कासन गरेका मानिसहरुलाई कारबाही गरेको सूचना टाँस नगरेर षड्यन्त्रपूर्वक जसरी पार्टी फुटाइयो, देशविरोधी तत्वहरुसँग न चुनावी तालमेल हुन्छ न पार्टी एकीकरण । तपाईंहरु भ्रममा नपर्नुहोला,” उनले भने ।

उनले त्यस्ता तत्वहरुलाई पार्टीमा कुनै इन्ट्री नै नहुने समेत बताए ।

उनले सरकारले राष्ट्रिय हितमा काम गर्न नसकेको समेत बताए । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको तर्क गर्दै ओलीले राजनीतिक अवस्थाप्रति सरकार गैरजिम्मेवार बनेको समेत बताए ।

Share This:
सम्बन्धित खबर
Loading...