मन्त्री श्रेष्ठले भनिन्– वास्तविक भूमिविहीन भूमि पाउनबाट बञ्चित हुन नपरोस्’

357

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तीव्र बनाइएको बताएकी छन् ।

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१९ साविकको वेगाशिपुर गाउँ विकास समितिमा रहेको गाउँ ब्लकमा रहेकाहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहीन भूमि पाउनबाट बञ्चित हुन नपरोस् भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम सुरु गरेको बताइन् ।

मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपुर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै वास्तविक भूमिहीन कोही पनि भूमि प्राप्त गर्नबाट बञ्चित नहुन् र गलत मान्छेले भूमि नपाउन भन्नेमा सबै चनाखो बन्नु पर्नेमा पनि जोड दिइन् ।

मन्त्री श्रेष्ठले लालपुर्जाको अभावमा नागरिकतासमेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनु पर्नेमा समेत जोड दिइन् ।

उनले भूमिविहीनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडि बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको कामसमेत सुरु भइसकेको बताइन् ।

उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम सुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको पनि जानकारी दिइन् ।

यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँ ब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् ।

२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँ ब्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपुर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न ढिलाइ गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...