काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । संघको महाधिवेशनको माग गर्दै उनीहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् ।
नेविसंघ कार्यकर्ताहरुले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेताहरुलाई झन्डा उपहार दिएका छन् ।
नैनसिंह महर नेतृत्वको कार्यसमिति भंग भएदेखि नै विधान कार्यान्वयन माग राख्दै आन्दोलनरत उनीहरुले मातृ पार्टीका नेताहरुलाई झन्डा दिएका हुन् ।
महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीहरु आन्दोलित भएकै स्थानमा आएर विरोधस्वरुप दिइएको झन्डा लिएका थिए ।
सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संगठनको बिषयमा उचित निर्णय गर्ने जानकारी दिए ।
यसअघि पटक पटक आमरण अनशन र आन्दोलन गरिसकेका उनीहरुले कांग्रेको बीउ भनिने नेविसंघलाई कोमामा पुर्याएको भन्दै विरोध जनाएका हुन् ।
बिहीबार सानेपा पुगेका विद्यार्थीले कागज, काठ र अन्य सामान प्रयोग गरी बनाएका झन्डा कांग्रेस शीर्ष नेताहरुलाई दिएका हुन् ।
विधानअनुसार ३२ वर्षे उमेरहद कायम गर्नुपर्ने माग राख्दै यसअघि सानेपामा आमरण अनशन समेत बसेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीसहितले विधानअनुसार तत्काल महाधिवेशन माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसको सबै भ्रातृ संगठनको पदावधि सकिएको लामो समय भइसकेको छ । पाँच भ्रातृ संगठनका अध्यक्ष कांग्रेस केन्द्रीय सदस्य भइसकेकाले उक्त पद पनि रिक्त छ ।
नेविसंघ अध्यक्ष पनि कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन् । नेविसंघ नेतृत्वको पार्टीले थपेको समय पनि माघ १६ गते सकिसकेका छ ।