देशी विदेशी प्रतिक्रियावादीहरुले घेरा हालेर सखाप पार्न खोजिरहेका छन् : प्रचण्ड

247

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको बताएका छन् ।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण)सहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

“माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,” उनले भने, “हामी यति ठुलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठुलो फाइदा हुन्छ र जनतालाई धेरै ठुलो घाटा हुन्छ ।”

अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उनको भनाइ थियो ।

उनले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिँदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताए । उनले भने, “जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन ।” अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए ।

प्रवेश गर्नेहरुका तर्फबाट रविकिरणले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...