काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सम्मानित भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अलमुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।
असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औँ संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अलमुताइरीलाई सम्मान गरीएको हो ।
यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरीसकेको छ । सो समयमा अलमुताइरी नेपालमा नरहेकोले उनलाई आज एक कार्यक्रमकाबीच सम्मान पत्र र नगद पुरस्कार वितरण गरीएको हो ।