खेलकुद पूर्वाधार निर्माणका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । सरकारले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालेसेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो ।
प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५/५ लाख प्रदान गरे । त्यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ ।
त्यस्तै, उहाले नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि सम्मान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको खेल जगतले अन्तर्राष्ट्रिय स्तरमा देखाएको प्रदर्शनको प्रसंसा गरे। उनले मुलुकमा खेलकुद पूर्वाधार निर्माणका लागि पनि सरकार प्रतिवद्ध रहेको बताए ।
उनले नेपालको फुटबल क्षेत्रमा पनि निकै सुधार भएको भन्दै अब्दुल्लाह अलमुताइरीलाई धन्यवाद दिँदै आगामी दिनमा फुटबलमा थप सफलता प्राप्त गर्ने बताए ।
त्यस्तै, खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मानका साथै खेलाडीमाथि राज्यले थप जिम्मेवारी थप गरेको बताए । उनले खेलाडीहरुलाई भएको समस्यामा बारेमा सरकार गम्भीर रहेको भन्दै भलिबल खेल्नका लागि पूर्वाधार निर्माण गर्न आगामी बजेटले आवश्यक सम्बोधन गर्ने जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भलिवल प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
गत पुसमा ढाका उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रहेको थियो । त्यस्तै अलमुताइरीको नेतृत्वमा घरेलु फुटबल टोली नेपालले हालै सम्पन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेल जितेको थियो ।