काठमाडौँ । प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार जगतलाई आग्रह गरेको छ ।
केही सञ्चारमाध्यमहरुले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न सञ्चारगृहको ध्यानाकर्षण गराएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरुले समाचार उनुवाद गरेर सम्प्रेषण् गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने कुराको प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए ।
उनले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्युएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टीकरण लिएको जानकारी दिए ।
उनले समाजमा भ्रम पैदा गर्ने प्रकारको समाचार बनाएर पठाउने संस्था र समाचार प्रकाशित गर्ने केही सञ्चार माध्यमलाई सोधिएको स्पष्टीकरणमा सञ्चार माध्यमले गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएको पनि बताए ।