अष्ट्रेलियालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा

269

काठमाडौँ । अष्ट्रेलियालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न सेमिफाइनलमा अष्ट्रेलियालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारत उपाधि नजिक पुगेको हो ।

एन्टिगुवामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रन बनाएको थियो । भारतका कप्तान यस धुलले ११० रन तथा शेख रशीदले ९४ रनको पारी खेलेका थिए ।

खराब सुरुवात गरेको भारतका लागि ओपनरद्वय अंगक्रिस रुघुवंशी ६ तथा हरनूर सिंह १६ रनमा आउट भए ।

तेस्रो विकेटका लागि यस धुल र शेख रशीदले २०४ रनको शतकीय साझेदारी गरेपछि भारतले सम्मानजनक योेगफल बनाएको थियो ।

धुलले ११० बल खेल्दै एक छक्का र १० चौकाको मद्धतामा ११० रन बनाउँदा रनआउट हुन पुगे । यस्तै, शेख रशीदले १०८ बलमा एक छक्का र ८ चौकासहित ९४ रन जोडे । उनी शतक बनाउनबाट ६ रनले चुके ।

यस्तै, दिनेश बानाले २०, राजवर्धन हांगरगेकरले १३ तथा निशान्त सिन्धुले १२ रनको योगदान दिए ।

२९१ रनको विजयी लक्ष्य पच्छ्याएको अष्ट्रेलियाले ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लचलान शाले सर्वाधिक ५१ रनको पारी खेले । यस्तै, कोरी मिलरले ३०, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्डले २० तथा टोम ह्विटनीले १९ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

भारतका विक्की ओस्टवालले ३, निशान्त सिन्धु र रवि कुमारले समान २–२ विकेट लिए ।

जितसँगै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि भारतले इंग्ल्यान्डसँग खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...