भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध : उपराष्ट्रपति पुन

305

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका छन् ।

सोनाम ल्होसार २०७८ को अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, भेषभूषासहितको छुट्टै पहिचान रहेको स्मरणसमेत गरेका छन् । तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको संगीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको उनको शुभकामना सन्देशमा उल्लेख छ ।

सोनाम ल्होसारले सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

“काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितिरिवाज, भेषभुषासहितको पहिचान छ । तामाङ सेलो गीत, टुङना र डम्फुको संगीत आज नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अंग बनेको छ । भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध छ,” सन्देशमा भनिएको छ ।

ल्होसार पर्व मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने। खालुम खाप्से, ड्यासिल, गुथकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले ल्होसारलाई आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन् ।

ल्होसारका अवसरमा देश विदेशमा रहेका तामाङ दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उनले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्णपालना गरेर पर्व मनाउन सबैमा अपिल गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...