‘खर्च गर्नुहोस्’ भनेर सचिवहरुलाई बारम्बार दबाब दिइरहनु राम्रो हुँदैन : मन्त्री शर्मा

98

काठमाडौँ । पुँजीगत खर्च गर्नु भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष २०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताए । “पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन राम्रो कुरा होइन,” उनले भने, “समस्याको सहजीकरण गर्नु ठिकै हो । तर खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।”

मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

यसैगरी, मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने÷नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिए । जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्दै खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउन निर्देशन दिए । खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उनले भनेका हुन् । त्यस्तै, उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिए ।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...