नेपाल र मोरिसस भिड्दै : के भने सहभागी टिमका प्रशिक्षक र कप्तानले ?

208

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग दशरथ रंगशालामा खेल्ने तय भएको दुईमध्ये पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल शनिबार हुँदै छ । खेलअघि दुवै टिमले जितको लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।

मैत्रीपूर्ण खेल अघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रि–म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा छुट्टै अनुभव हुने बताए ।

उनले मैत्रीपूर्ण खेल भएपनि सकारात्मक नजिताको अपेक्षा रहेको बताए । चेम्जोङले नेपाली टोली खेलका लागि तयार रहेको समेत बताए । सबै खेलाडीहरु लिग खेलेर राष्ट्रिय टिममा आउदा सबै फिट देखिएरहेको बताए ।

नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पूरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तिलाई सुधारेर प्रदर्शन गर्ने बताए ।

त्यस्तै, मोरिसस फुटबल टोलीका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताए । मौरिससले पछिल्ला साढे दुई वर्षदेखि खासै खेलहरु खेल्न नपाएपनि अहिलेको खेलका लागि ४५ दिनको अभ्यास गरेका जानकारी दिए ।

कोरोना महामारीका बीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दर्शकसहित अन्तर्राष्ट्रिय फुटबलको आयोजनाका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पूरा गरेको छ ।

करिब १५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा बढीमा ५ हजार दर्शकले प्रवेश पाउनेछन् ।

प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका ३४ जना खेलाडीलाई नै समेटेर राष्ट्रिय टोली निर्माण गरेका छन् । दुई खेलका लागि फरक–फरक टोली बनाएर प्रशिक्षक अलमुताइरीले नयाँ प्रयोग गरेका छन् । मोरिससको फिफा वरीयता १७२ र नेपालको १६९ छ ।

Share This:
सम्बन्धित खबर
Loading...