२ हजार २७० ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

154

बाँके । डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत हालसम्म २ हजार २७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको हो ।

गाउँपालिकाको वार्ड नम्बर १ देखि ६ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल (ब्ल्याङ्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । आज शुक्रबार ६७ जना गरि कुल दुई हजार दुई सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

गाउँपालिकाले गाउँ समुदायबाटै ज्येष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगञ्जका ज्योती विकास बैंक, एनसिसी बैंक र मेगा बैंकमार्फत् दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रेमासिक साउनदेखि असोजसम्मको भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार बैंकबाट भत्ता बुझेर ज्येष्ठ नागरिकहरुलाई एक–एक वटा ब्ल्याङ्केट र च्यवनप्राश वितरण गरि घरैसम्म पुरयाउने गरिएको छ ।

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक दलित र एकल महिला गरी २ हजार ७२८ जनालाई कम्बल र च्यवनप्रास वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।

वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले सामाग्री हस्तान्तरण गरिरहेका छन् । वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षकलगायतका सहयोगीहरु खटिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...