सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको साथ र सहयोग सधैँ रहन्छ : मन्त्री श्रेष्ठ

103

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडि बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

आज मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्षमा नियुक्त भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भूमिका खेल्नु पर्ने बताइन् ।

सहकारी बोर्डको अध्यक्षसमेत रहकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।

उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्बे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिँदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौती र अवसर दुवै रहेकाले सम्भावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा समेत जोड दिइन् ।

कार्यक्रममा मन्त्रालयमा सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रको सुधार आवश्यक रहेको औँल्याउँदै सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टि गर्नु आवश्यक रहेको बताए ।

राष्ट्रिय सहकारी विकास बोर्डका नवनियुक्त सहअध्यक्ष मित्रराज दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत रुपमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...